घर जाने टिकट…

“ए बाबु छिटो गर न गाडी छुट्छ फेरी” कोहि चिच्याएको आवाज |

ऊ गहिरो निद्राबाट ब्युझियो | खोई कुनै सपनाको संसारमा रमाउदै रैछ उसको मन | आँखा खुल्दा बित्तिकै, उसलाई उसको सपनाको रंगीन संसारबाट निकाल्ने  झर्को लाग्ने आवाजलाई सराप्यो | सिरानी नेर राखेको आफ्नो स्मार्ट फोनको लक खोल्यो| झिल्ल उज्यालो भयो, अध्यारोमा उसको अनुहार मात्र देखियो l मोबाइलको प्रकाशले l उसको अनुहार बिहान बिहान निद्रा भंग भएको दुख भन्दा पनि बढी अरु कुनै कारणले दुखि देखिन्छ, शायद भित्रबाटै खुशी छैन उ | उजाड उजाड छ उसको अनुहार, उदास उदास छ उसको मन |

“ओहो,.. भर्खर ५ पो बजेको रैछ त”  मोबाइलमा समय हेरेर भित्र भित्रै बोल्यो |
“साला को मुलाहरु हुन यस्तो कराउने, एकाबिहानै” रिस पोख्यो उसले |

झ्याल खोलेर यस्सो बाहिर हेर्यो, एक झोका बिहानको चिसो सिरेटोले उसको अनुहारमै हिर्कायो | उसको अनुहार भरि काँडा उम्रियो, त्यहि उजाड अनुहार | एक त निद्रा बिग्रेको त्यसमाथि त्यति चिसो सिरेटोले एकाबिहानै अनुहार छोप्दा सहि नसक्नु रिस उम्लेर आयो उसमा, फेरी रिस शान्त पार्न सराप्यो त्यो सिरेटोलाई पनि |

बाहिर हेर्यो छेउको घरको लाइट झिल्ल बलेको थियो, मान्छेहरु गुनगुन गर्दै तल माथि गर्दै थिए | सामानको ठुला ठुला झोलाहरु तल तिर झार्दै रहेछन् | घर जाने तर्खर पो रैछ जस्तो लाग्यो, तर उसलाई मतलब पनि भएन | मात्र मनमनै गुनगुनायो “जे गरेपनि चुपचाप गर्नु नि, बेकारमा अरुलाई बिहान बिहान उठाएर, साइकोहरु” त्यै भन्दै झ्याल बन्द गर्यो | चिसो सिरेटो आउन पाएन भित्र, कोठा गुम्म पारेर होला तातो थियो l भर्खर चिसो सिरेटोले काँडा फुलाईदिएको उसको अनुहारमा फेरी न्यानो आभास भयो | काँडा बिलाएर गयो, त्यहि ग्रहण लागेको अनुहारमा, त्यहि निरास अनुहारमा l फेरी सिरक भित्र गुटुमुटु परेर निदाउन खोज्यो | मन न हो के के सोच्न पो थाल्यो |
घरमा हुदा सधै केहि चाडपर्व आउदा यसरी नै एकाबिहान ब्युझिन्थ्यो, तर अहिलेको जस्तो झर्को लाग्ने आवाजले हैन l चाडपर्वको बेला उसकी आमा बिहानै उठ्नुहुन्थ्यो, नुहाई धुवाई पुजापाठ गर्नुहुन्थ्यो अनि राम्रो राम्रो लुगा लगाएर मिठो मिठो धेरै परिकारका खानाहरु पकाउन भान्छा कोठामा छिर्नुहुन्थ्यो | त्यहाँ बाट भाडाकुडाको आवाज आउथ्यो र उ बिउझिन्थ्यो l उ खुशी हुन्थ्यो त्यतिबेला त्यो निन्द्रा बिग्रिदा पनि, उसको मन चंगा सरी उड्न खोज्थ्यो र उड्थ्यो  पनि l तर अहिलेको जस्तो अलि माथि पुगेर चैट हुनलाई हैन | माथि माथि सम्म उड्थ्यो, रमाउदै कराउदै र माथिबाट सबै घर घर लाई चियाउथ्यो, आफ्नो जस्तो अरुको घरमा पनि मिठा मिठा खानेकुराहरु पाक्दै  छ कि छैन भनेर l”

उसलाई घरको याद साह्रै आयो यो पटक, त्यति नै बेला झसङ्ग याद आयो, दशैँ आउन त अब एक हप्ता मात्र बाकी पो छ, घर कहिले जाने? कसरि जाने ? अफिसको काम बाट कहिले छुट्टी पाउने हो ? दशैंलाई भनेर बोनस दिन्छ कि दिदैन? दिए त ठिकै छ नदिए कसरि पुर्याउने खर्च? के गर्ने ? साह्रै छट्पटियो | याद गर्यो हिजो मात्र साँझ तरकारी किनेपछि पकेटमा हेर्दा दुईहजार मात्रै थियो, उसको मन खिन्न भएको थियो |

लौन के गर्ने कसो गर्ने भनेर मनमा दन्दनी आगो नै बल्यो | कोठामा न्यानो मात्र पो भएको थियो, गर्मि त भएको थिएन नि, तर यो आउदै गरेको जाडो मौसममा पनि उसलाई प्रचण्ड गर्मीको अनुभूति भयो | सिरक भित्र त बस्नै सकेन, निद्राको त के कुरा |

भैगो अब सुत्नको कुनै अर्थ रहेन l उ जुरुक्क उठ्यो l ढोका खोल्यो,  फेरी त्यस्तै  चिसो सिरेटोले उसको शरिरमा बज्र प्रहार गर्यो l तर यसपटक उसलाई चिसो भएन, अघिको जस्तो काँडा फुलेनन्, शायद मनमा खेलेको कुराहरुले, चिन्ताले उसको भित्रै आत्माबाट ज्वालामुखी नै उत्पन्न भएछ क्यारे l चुपचाप बाहिर छतमा गयो, यताउति हेर्न थाल्यो | आफ्नो घरको ठिक अगाडीको घरका केहि ढोकाहरुमा ताला लागेको देख्यो l मनमनै बोल्यो “घर गएछन् त्यो अंकल आन्टीहरु पनि l” तिनीहरु नै थिए उ संग राम्ररी बोल्ने त्यो टोलमा, झन् उनीहरुनै घर गइसकेछन् | त्यसै त्यसै  एक्लो महशुस गर्यो उसले l यसपटक त्यो चिसो सिरेटो उसको मन भित्र नै पस्यो |

सोच्यो “घर त जानै पर्छ, बर्षमा एक दुई पटक घर जान्छु म l त्यसमाथि पनि दशैँ जस्तो कुरा, कसरी बस्नु यो बिरानो ठाउँमा एक्लै l एक दुई दिन भए पनि घरमा बस्छु, आमाले पकाएको मिठो मिठो खान्छु” मुस्कुर्यायो ऊ l
सोच्दै गयो, “फेरी दशैँ जस्तो बेला छोरा घरमा आउदा केहि ल्याईदेला भनेर आशावादी होलान् आमा बुवाको मन l अफिसको तलबले यहाँ आफुलाई नै खान पुग्दैन, तै पनि यो चाडपर्व को बेलामा घर गएर आमालाई एक छाक भए पनि मासु किनेर खानु, अनि यो जाडो छेक्ने एक सरो लुगा किनेर लगाउनु भन्नु पाए कस्तो आनन्द आउथ्यो यो दुखी आत्मालाई l अब मोटरसाइकलमा जानलाई त पेट्रोल पनि दिएन यो डाँका सरकारले, गाडीमा जाउ टिकट नै पाउदैन, पाइहाल्यो भने पनि दोब्बर भाडा लिन्छन् रे l भएको पैसा सबै गाडी भाडा मै दिए घरमा बिजोक देखाउन के जानु? अफिसबाट पनि दशैँ बोनस दिन्छ कि दिदैन? यो  पैसाको जातले  पनि टोक्नु टोक्यो l दशैँ हो कि दशा l उफ…l

उसले कहिल्यै  सोचेको थिएन पैसाले यति तड्पाउला उसलाई भनेर l पढाई सकेपछि नेपालमै काम गर्छु भनेर उसले नै सोचेको थियो l घरबाट आमाले त भन्नु भएकै थियो, “नेपालमा राम्रो हुन्न रे काम, पैसा पनि थोरै दिन्छ रे l त्यति पैसाले कसरि पाल्छस् आफुलाई, कसरि बनाउछस् भविष्य? जाँ विदेश बरु” तर मानेन उसले l धेरै पैसा कमाउने र  धनी हुने सोख थिएन उसलाई | नेपालमै बस्यो | यी अहिले आएर यस्तो हालत, रात दिन पैसाकै जुम्रा सरिर भरि हिड्छ | कहिले कसो  त अफिसमा ब्रेक टाइममा खाजा खान पनि जादैन, साथीहरुलाई कहिले पेट बिग्रेको छ त कहिले घर बाटै खाएर आको भनेर ढाटछ l यस्तो अबस्थामा पछुतो पनि लाग्छ उसलाई आमाको कुरा नमानेकोमा |

मोबाइल निकाल्यो खल्तीबाट, आफ्नो अफिसमा संगै काम गर्ने एउटा साथीलाई फोन गर्यो | लगभग दुई मिनेट कुरा गर्यो होला l निराश हुदै फोन काट्यो l अहिले चाई चिसो सिरेटो मात्र होइन हिमपात नै भयो उसको मनमा | साथीले अफिसबाट दशैँ बोनस पनि नपाउने खबर दियो | उधारो (सापट) लिने सोचेको थियो तर साथीले पनि आमा बुवाको लागि समान किनेर घर जाने भाडा मात्र बचाएर राखेको कुरा दर्सायो | उपलब्धि शुन्य भयो उसको लागि l साथीले ‘आमा बुवाको लागि सपिंङ’ गरेको कुरा गर्दा उसको मनमा बज्र नै प्रहार भएको थियो | अब त झन् आशाको एउटा बाटो पनि थुनियो | अब चाहि साच्चिकै घर जाने कुरा सपना जस्तो लग्न थाल्यो उसलाई l ‘एक दिन न हो आफु त सहुला तर घरमा टीका मुछेर जमरा संगै बसेकी आमाले कसरि सहनु होला? कसरि सम्हाल्नु होला त्यो निर्दोष मन’ भन्ने लग्यो उसलाई |

फेरी मोबाइल हेर्यो, बिहानको ७ बज्नै लागि सकेको रहेछ l अब खाना पकाएर खाएर अफिसको लागि निस्कनु थियो उसलाई l
यस्तै कुरा खेलाउदै कोठामा पस्न मात्र के पाएको थियो खल्तीमा राखेको उसको फोन बज्यो | को होला बिहानै कल गर्ने भन्दै हेर्यो | मोबाइलको स्क्रीनमा लेखिएको थियो “होम स्वीट होम” l
“लौ मार्यो घरबाट पो रैछ अब के हुने हो?” अलिअलि डराउदै शब्दहरु फुत्त उसको मुखबाट निस्के | तर मनमनै त अरु नै केहि सोच्यो, “कति लामो आयु छ मेरी आमाको, याद गरेको नै बेला फोन आयो l हे भगवान, मेरी आमाको आयु मैले सोचेको जस्तो लामो होस् l”
उठाउनु त परिगो, हात कपाउदै मनमा थरिथिका कुरा खेलाउदै, के भन्ने होला भनेर कथा दिमागमा बुन्दै क्लीक गर्यो “आन्सर” बटन |

“हेल्लो बाबु” मायालु आवाज बज्यो उसको फोनको स्पिकरमा |

ऊ सोच्छ, “यस्तो मिठो आवाज, यति मायालु स्वर मेरी आमाको नै हो | यस्तो अरु कसैको पनि हुन सक्दैन l” केहि समय पहिले चिसो सिरेटो उसको मन भित्रै पसेको थियो, उसको कोमल अंगहरुमा काँडा उम्रेको थिए | तर अहिले त्यी सबै काँडा आमाको दुई शब्दले नै सखाप पारिदियो र त्यै उजाड अनुहार, त्यै उदास अनुहार फेरी चम्किलो भयो, रसिलो भयो |

“हजुर आमा, ढोग गरे” डरलाई आफु भित्रै पचाएर आमालाई दर्शन गर्यो |
उताबाट आमाले भाग्यमानी भएस भनेपछि एकचोटी आँखा चिम्लिएर सोच्यो “हे भगवान आमाले दिएको यो आशिर्वाद लागोस् मलाई l”

“दशैँ आउन आटीसक्यो कहिले आउछस् घर? कहिले हुन्छ छुट्टी?” मनभरि आशाको बिउ रोप्दै सोधिन आमाले |

लौन आमा त ‘तु द प्वाइन्ट’ मै पो आउनु भयो | गाह्रो पर्यो उसलाई अब के जवाफ दिने यो प्रश्नको ? के भन्ने ? कसरि भन्ने ? उसका दिमागमा कैयौं प्रश्नहरु द्रुत गतिमा कुद्न थाले l शायद त्यति गतिमा त उसले आफ्नो मोटरसाइकल पनि कुदाएको थिएन होला |

उसको मनबाट धेरै थरिका जवाफहरू उफ्रिन थाले, शायद मलाई मुख बाट निकाल भनेर होला |

घर आउनलाई मोटरसाइकलमा पेट्रोल नै छैन |  भन्ने कि …
आउने गाडीको टिकट पनि पाइएको छैन, टिकट पाए पनि दोब्बर भाडा छ |  भन्ने कि ..
आफुसंग पनि चाहिए जति पैसा छैन, खालि हात कसरि आउनु? भन्ने

खैं कुन जवाफ दिने आमालाई उसको दिमागले छान्नै सकेन l निशब्द भयो उ |

तर,

फोनको अर्को पट्टि बाट फेरी त्यहि मिठो आवाज सुनियो |

“हेलो … हेलो … बाबु, सुनिनस् र? … ल अहिले राखे मैले…. फोन गर्नु है |”

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s